डा. हरिप्रसाद कडेल |
संविधानसभाको
चुनावसँगै नेपाली जनताले अपेक्षा गरेका हरेक अवस्थाहरूको यसरी उल्टो नतिजा क्रमशः
देखा पर्दैजाला भनेर सायदै कहिल्यै कल्पना गरेका थिए ∕ यदि प्रक्रियागत रूपमा परिवर्तनसँगै त्यसको प्रत्याभूति पनि
भएन भने निराशाको साम्राज्य विस्तार हुन्छ भन्ने तथ्य अहिले लागू भएको यथार्थ छ ।
यस्तो कुनै क्षेत्र छैन, जहाँ प्रगतिको
मार्गले आफ्नो बाटो प्रशस्त गरेको होस् । यस्तो कुनै गौरवशाली क्षण छैन जसबाट
सन्तुष्टि हुने आधार फेला पार्न सकियोस् ।
नेपाली जनतालाई
बाँच्नु पर्ने चुनौती छ तर बाँच्ने कसरी भन्ने सन्दर्भले टाउको उठाउन भने छोडेको
छैन । त्यस प्रक्रियामा आएको सबैभन्दा ठूलो बाधाका रूपमा महँगीको चर्को प्रभाव छ ।
सर्वसाधारणको आम्दानी त्यसै पनि कम हुन्छ, अझ महँगीबाट प्रताडित हुँदा त्यति थोरै आम्दानी त बालुवामा पानी खन्याएजस्तै
हो । आम्दानी धेरै हुनेले महँगीलाई चाहे कुनै पनि अवस्थामा होस्, पराजित गर्ने साहस राख्दछन् भने आम्दानी कम
हुने वा आम्दानी नै नहुनेले महँगीको प्रताडनाका कारण भित्रभित्रै आपूmलाई जलाउने अभियानमा संलग्नता प्रकट गर्दछन् ।
ठूलो परिवर्तनसँगै आएको लोकतान्त्रिक पद्धतिले दिएको यस्तो अव्यवस्थाको चरम
नमुनालाई साक्षी मान्ने हो भने गणतन्त्र आएपछिको माओवादी नेतृत्वको सरकार र
लगालग एमाले नेतृत्वको दुईवटा सरकार धेरै
हदसम्म असफल साबित भएका छन् भनेर मान्दा हुन्छ ।
हुन त, यो देशमा कहिल्यै पनि ठीक कुरा ठीक समयमा लागू
भएन । गलत कुराको प्रायः सधैँ प्रयोग भयो र त्यसले ढिलो–चाँडो आफ्नो असर देखाउँदै पनि गयो । ढिलोको सन्दर्भमा त
यस्तो मानक नै स्थापित भएको छ कि नेपाली समय भनेर त्यसलाई निर्धारण गर्ने प्रथाको
विकास चरमोत्कर्षमा पुगेको देखिन्छ । जबसम्म कुनै नेपालीले आधारभूत आवश्यकताको
सन्दर्भमा सन्तुष्ट हुने अधिकार प्राप्त गर्दैन, तबसम्म परिवर्तनमात्र ठूलाठालुलाई आएको रहेछ भन्नलाई
हिच्किचाउनु पनि पर्दैन ।
देशमा आजसम्म
ठूला–ठूला परिवर्तनहरू नभएका
होइनन् । ठूला–साना तानाशाहहरू
ढलेका नेपालीले आफ्नै आँखाले देख्न पाएका पनि हुन् । केही हदसम्म परिवर्तनको ताजा
अवधिमात्र सन्तोषजनक रÞयो भनेर मान्नु
पर्ने अवस्था छ । केही समयपछि फेरि उस्तै पुनरावृत्तिको कथाले जन्म लिएको घटना
नौलो विषय हुँदैन । खास मानसिकतामा परिवर्तन नआइकन जतिसुकै ठूलो परिवर्तन देशले
भोगेको नै किन नहोस्, त्यसको खासै अर्थ
छैन भन्ने कुरा हाम्रोजस्तो देशमा पटकपटक लागू भएको यथार्थ छ ।
महँगीको सवालमा
त्यसका जिम्मेवार पक्षहरू धेरै छन् । यहाँ उत्पादित नहुने वस्तुहरू बाहिरबाट आयात
गर्दा त्यसमा अन्तर्राष्ट्रिय सन्दर्भले प्रभाव पारेको कुरालाई नकार्न सकिने ठाउँ
पनि छैन । नेपालबाट निर्यात हुने वस्तु पनि स्वदेशमैं खपत हुन सक्ने अवस्था
हुँदाहुँदै त्यसलाई बाहिर पठाउनु पनि महँगी बढ्नुको कारकको रूपमा लिइनु पर्दछ ।
जबसम्म वस्तुको उत्पादन बढाएर मागअनुसार त्यसलाई सहज रूपमा उपलब्ध गराउन सकिँदैन,
तबसम्म के सरकार, के व्यापारी सबैको मूल्यवृद्धिसँगै प्राप्त हुने कमिसनको
खेललाई रातारात प्रगति गर्नबाट जो कोहीले रोक्न सक्दैन ।
महँगी आफैँ
आउँदैन, महँगीलाई नजानिँदो ढङ्गले
विकास गरिन्छ । महँगीलाई जति नै परिस्थितिजन्य भनेर भनौँ तर महँगी प्रवृत्तिगत
रूपमा विकसित भैरहेको हुन्छ । महँगी बढ्दा नाफा–नोक्सानको खेललाई नयाँ सन्दर्भका साथमा अघि बढाइन्छ ।
विडम्बना यो छ कि घाटालाई सधैँ प्रचार–प्रसारसहित प्रायोजित रूपमा प्रस्तुत गरिन्छ ।
मह“गीको कारण अधिकांश नेपाली जनताले अहिले
कष्टपूर्ण जिन्दगी बिताउनु परेको वास्तविकता छ । सर्वसाधारणलाई पहिलैदेखि नै परेको
महँगीको मार झन्झन् बढ्दै जानुले चरम सङ्कटको अवस्थाको सिर्जना भएको छ । अmझ नेपाली जनताका नाममा कम्युनिस्टरूपी
परिकल्पनामात्र बाँड्ने सरकारसँग पनि महँगी नियन्त्रण गर्न सक्ने कुनै संयन्त्रको
राम्रोसँग विकास नहुनु आफैँमा लाजमर्दो स्थिति पनि हो । मनपरी र अव्यवस्थित रूपमा
महँगीले विकराल रूप लिँदै जानुले खास अर्थमा एक पछिअर्को हुँदै गठन भएको सरकारलाई
अलोकप्रिय बनाउनेभन्दा अर्को काम गरेको छैन भन्ने सत्यलाई किन कहिल्यै महसुस
गरिँदैन ? सरकार स्वयंले यो कुरा
महसुस नगरेसम्म यसका बारेमा केही प्रगति भैहाल्छ कि भनेर सोच्नु अझ झन् अपेक्षाहरू
बढ्दै जानु पनि हो ।
केही महिनाअघि
बनेको सरकार भए पनि त्यसको भविष्य अहिले सुरक्षित छैन । सत्ता जोगाउनका लागि नै
आफ्नो तन, मन र धन लगाउने सरकारले
सर्वसाधारण जनताको दिन प्रतिदिन सरोकारको विषय बन्ने महँगीमाथि ध्यान नदिनु
अस्वाभाविक छैन । समयमै संविधान निर्माण र शान्ति प्रक्रिया टुङ्गोमा पुगेको भए
महँगीको मारमा परेका अधिकांश जनताले राहतको सास फेर्न पाउने मीठो सपना पनि देख्ने
थिए । प्रत्येक सरकारको परिवर्तनसँगै अहिलेको सरकारसँग पनि अपेक्षा गर्नुपर्ने
धेरै कुराहरू छन् । भनिन्छ– अनुहारहरू फरक
हुन्छन् । सोचहरू एकै हुँदैनन् । तर अनुहारहरू फरक भए पनि सोच एउटै पनि हुन सक्छ
भन्ने कुरा केही महिना पहिला मन्त्रिमण्डल गठनको प्रक्रियासँगै नदेखिएको भने होइन
। मन्त्रिमण्डलका कतिपय सदस्यहरू जननिर्वाचित भएर मन्त्री बन्न सफल भएका होइनन् ।
सत्तासुखको आनन्द लुट्न कुर्सीमा लिप्त रहनु नै उनीहरूको अहिले पेसा हुँदै गएको छ
। उनीहरूका लागि नेपाली जनता महँगीको दल–दलमा फस्दै गएका छन् भन्ने कुराको कुनै अर्थ छैन, सुविधाभोगी प्राणीलाई त्यसले छोड्ने कुप्रभाव थाहा हुने
कुरा पनि भएन । खुकुरीले दिएको चोट अचानोलाई मात्र थाहा हुन्छ भनेर बिनाकारण
भनिएको पनि होइन ।
गाउँबाट एकैचोटि
सहर झरेको माओवादीको नेतृत्वको सरकारको बेलामा मात्र होइन, अझ त्यसभन्दा बढी महँगीजस्तो घातक रोगसँग वर्तमान सरकार पनि
जुध्न नसकी असफल प्रमाणित भइसकेको कुरा विभिन्न सन्दर्भहरूले देखाउन छोडेका छैनन्
। महँगीजस्तो घातक रोग झन्झन् फैलिँदै जानुले नेपाली जनताको पीडा अझ बढेको अवस्था
छ । उडायो सपना सबै हुरीले भनेझैँ सत्तासीन दलहरूको हैसियत संविधानसभाको चुनाव
भएपछिका यी करिब साढे तीन वर्षले प्रशस्त रूपमा देखाएका छन् ।
जनताका समस्याहरू
एकातिर छन् भने सत्तारूढ दलहरू कानमा तेल हालेर मस्त निद्रामा सुतिरहेछन् ।
आश्वासन बाँड्नु र त्यसलाई पूरा गरेर देखाउनु नितान्त फरक–फरक कुराहरू हुन् । मान्छे सामथ्र्यहीन भएपछि नपुङ्सक बन्दै
जाँदो रहेछ भन्ने सत्यलाई दृष्टिगत गर्ने हो भने यति धेरै अव्यवस्थाको त्यसले सही
प्रकारले प्रतिनिधित्व गर्न सक्छ भन्ने देखिन्छ । महँगीको सवालमा त झन् यो कुरा
प्रत्यक्ष लागू हुन्छ नै ।
जब हरुवा नेताहरूकै ठूलो चलखेल हुने गरेर सरकार
बन्दै जान्छ, त्यसपछि भने
जनताले देखेका ती मिठासपूर्ण सपनाहरूमाथि नराम्रोसँग तुषारपात हुँदै पनि जान्छ ।
जनताको सेवक हुँ भनेर कहिल्यै भन्न नथाक्ने मन्त्रीहरूको जनताप्रति देखिएको गैर
जिम्मेवारपूर्ण व्यवहारले देश अहिले गम्भीर खतराबाट गुज्रँदैछ । देशमा यति धेरै
समस्याहरू छन् कि न तिनको राम्रोसँग कतैबाट सम्बोधन भएको छ न तिनले छोडेका
नकारात्मकताहरूलाई कम गर्न नै कुनै शक्तिशाली निकाय अघि बढेको देखिन्छ ।
महँगीको मार अझ
त्यसमा पनि खाद्य पदार्थको मूल्यले भने आकाश छोएको अवस्था छ । पहिलेदेखि नै
सामानहरू लुकाउनमा सक्रिय रहेका व्यापारीहरू अहिले झन् कसरी बढीभन्दा बढी
स्थितिलाई आफू अनुकूल उपयोग गरेर रातारात मालामाल बन्ने भन्ने चक्करमा रहेका
देखिन्छन् । बजारभरि कालोबजारीहरूको यति ठूलो संयन्त्र विकसित भएको छ कि जसले
सर्वसाधारण जनताहरूलाई कङ्गाल बनाएर आफ्नो सुरक्षित भविष्यको निर्माणको मात्र
चिन्ता गर्छ । महँगीमा देखिएको प्रतिशत घट्ने होइन, अझ झन्झन् बढ्दै जानुले महँगीले सीमा नाघ्दै गएको स्पष्ट छ
। कहिलेसम्म नेपाली जनताले यस्तो चर्को महँगीको मार खपिरहनु पर्ने हो ? यो विकराल समस्याको समाधान भने अँध्यारो
भविष्यभित्र कतै गुप्तवासमा बसेको अनुभूत हुन्छ ।